Friday, June 26News That Matters

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

पूर्णपुष्टि, साउन २३

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमितको तेस्रो सबैभन्दा प्रभावित देश भारतमा संक्रमितको संख्या २० लाख २१ हजार ४ सय ७ पुगेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २० दिनमा सङ्क्रमण दुई गुणाले बृद्धि भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

भारतमा उक्त संक्रमित मध्ये अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो ।

अहिलेसम्म विश्वभर १ करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ७ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ भने १ करोड २३ लाख ७२ हजारभन्दा धेरै निको भइसकेका छन् ।