
पूर्णपुष्टि, जेठ ३१ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान संशोधन गरेर भारतसँग दुरी बढाउन नचाहेको बताउनुभएको छ । अहिले राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल–भारत सीमा विवाद समाधान गर्न चाहेको उहाँले बताउनुभयो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर पाएको बताउनुभयो ।
पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको बताउनुभयो । तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीलाई इतिहासको जिम्मेवारी पुरा गर्न धचधच्याउनु भएकोमा भारत सरकार र मन्त्रीहरुलाई धन्यवाद दिन चाहन्छु ।’ अब भारतसँग सधैंका निम्ति समाधान हुने गरि वार्ता गर्नुपर्ने धारणा समेत राख्नुभएको छ ।
संविधान संशोधन विधेयकमाथि दफावार छलफलमा भाग लिदै अध्यक्ष प्रचण्डले त्रुटीपूर्ण नक्सा र निशान छाप परिवर्तन गर्ने ऐतिहासिक भूमिका निर्वाह गर्नुभएकोमा प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद समेत दिनुभएको छ ।
