
पूर्णपुष्टि, चैत ८
भारतमा कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।
सिमा नाकामा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश गाउँ फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।
गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको जनाईएको छ ।
सीमानाकालाई थप व्यवस्थित बनाउन आज स्थानीय सरकारसहित सम्बन्धित निकायलाई पत्राचार गरिने महाशाखाले जनाएको छ । त्यस्तै, कोरोना भाइरसको नियन्त्रणका लागि भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न आग्रह गरिएको छ ।
यसबीचमा ठूलाठूला सभा आयोजना भएकाले अब यस्ता सभा सम्मेलन रोक्ने तयारी पनि गरिएको छ । कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् ।
कोरोना सङ्क्रमण फैलिएसँगै भारतका केही ठाउँमा लकडाउन घोषणा गरिएको छ ।
