Saturday, August 8News That Matters

भोलीदेखि ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, सउन ३ 

आज देशको विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ ।

मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको छ । अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणका सम्बन्धमा शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै मानवीय क्षति घटाउन सतर्क रहन प्राधिकरणले जनाएको छ ।

मनसुन सक्रिय भएको एक महिनाको अवधिमा पहिरोमा परी २० जिल्लामा १ सय १ को मृत्यु, ५१ बेपत्ता, ४९ जना घाइते र १ सय ३६ घरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । खराब मौसमका कारण उद्धार र राहत वितरणमा केही ढिलाइ भइरहेको छ  ।

मनसुन न्यून चापीय रेखा अबको तीन दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रत्येक जिल्लामा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक सहभागी रहेको ५० जनाको उद्धार टोली, राहत सामग्री तथा औषधि उपचारका लागि हेलिकोप्टर सहितको थप सहयोगी टोली प्रदेशमा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

तराईमा डुङ्गा, डोरी, लाइफ ज्याकेट लगायत उद्धार सामग्रीको व्यवस्था गरिएको छ । पुल भत्किएमा बेलिब्रिज, अस्थायी आवासका लागि टेन्ट र त्रिपालको भण्डारण गरिएको छ । बाढी आएमा उद्धार गर्न तुरुन्त परिचालन हुनेगरी संयन्त्र निर्माण गरिएको छ । मनसुन सक्रिय भएयता मुलुकका १६३ स्थानमा पहिरो गएको छ । यस वर्ष चैत÷वैशाखदेखि नै वर्षा हुन थालेका कारण भारी वर्षा हुँदा पहिरोले बढी क्षति पु¥याएको प्राधिकरणले जनाएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ ।