Tuesday, June 2News That Matters

भोलीबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

पूर्णपुष्टि, वैशाख ५

सरकारले भोलिदेखी बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

यस पालि कोरोना भाईरस कोभिड–१९ संक्रमणको जोखिम भएकोले औषधी खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सवैमा स्वास्थ्य मन्त्रलयले आग्रह गरेको छ ।

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।