Sunday, May 17News That Matters

मकैबारीमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो, घटनाको रहस्य चाँडै पत्ता लाग्ने

पूर्णपुष्टि, बैशाख २२

आईतबार मोरङको रतुवामाई नगरपालिका ६ स्थित मकैबारीमा मृत फेला परेकी एक महिलाको पहिचान खुलेको छ । मृत महिलाको शब बारे प्रहरीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बुबा धनुस सोरेनले आफ्नो छोरी रहेको बताएको छ ।

मृत महिलाको शव बुवा धनुस सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर लगेपछि मृत  महिलाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी नायव उपरिक्षक मानवहादुर राईले बताउनुभयो ।

मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको डिएसपी राईले जानकारी दिनुभयो ।

डिएसपी राईका अनुसार पहेँलो कुर्ता र कालो ट्राउजर लगाएकी महिलाको घाँटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलमा स्क्रयाच नभएको रिचार्ज कार्ड पनि भेटिएको थियो ।

मृतक महिला सरिताका श्रीमानको दुई वर्षअघि निधन भएको थियो । उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको कृषि फर्ममा काम गर्थिन् । उनका एक छोरा पनि छन् ।

शुक्रबार बिहेमा जाने भन्दै उनले फर्मबाट बिदा लिएकी उनको आइतबार शव भेटिएको थियो । भैंसीलाई घाँस काट्न गएका स्थानीय रामप्रसाद भण्डारीले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महिलाको पहिचान खुलेका कारण थप विषय चाँडै खुल्ने डिएसपी राईले बताउनु भएको छ ।  महिलामाथि बलात्कार भए÷नभएको विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने डिएसपी राईले बताउनुभयो ।