Saturday, June 27News That Matters

मतपत्र छपाइको काम सकियो

पूर्णपुष्टि, कार्तिक १८ गते ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाईको काम सम्पन्न भएको छ । निर्वाचनका लागि आठ कारोड मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।
यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ । प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरिएको हो ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्रहरू प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको छ ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।