Tuesday, July 7News That Matters

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

पूर्णपुष्टि,माघ ५ । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले हरेक वर्षको माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस भवनमा रहेको कवर्डहलमा मनाउने भएको हो । विगत २०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्त्री सञ्जय यादवले जानकारी दिए ।

प्रदेश सरकार बन्नुअघि मधेस केन्द्रित दलहरूले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए । प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस राजविराजमा मनाएको थियो ।