
वैशाख ४
रुपन्देहीमा तान्त्रिक प्रयोजनका लागी एक महिलाको हत्या भएको छ । तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरको माइतीघरमा करिब १३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको प्रहरीले जनाएको छ । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो ।
महिलाका हातका औंलाहरु प्रतिऔंला करिब ८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा दर्जीको हत्या गरेर औंलाहरु काटेर लगेको पाइएको प्रहरीले जनाएको छ ।
मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेको अवस्थामा हत्यामा संलग्नसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसलाई संगठित अपराधको नौलो घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट हत्या गरिएकी महिलाका हातका औंलाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
अब्दुल कलाम र बेलाल अहमदले फोन गरेर बोलाई बेतिया नदी छेउको चौरमा ती महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि शवलाई बोरामा राखेर नदीमा फालेको पाइएको प्रहरीले जनाएको छ ।
