Monday, June 15News That Matters

माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य बन्द

पूर्णपुष्टि, असोज २८

लमजुङमा निर्माणाधिन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको हो ।
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा आयोजनामा कार्यरत २७ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो । आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युत् गृहको काम बाँकी छ । अहिलेसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ ।

२०७१ सालदेखि सुरु भएको आयोजना २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म थियो ।