
पूर्णपुष्टि, भदौ २४
आजदेखि मिथिला क्षेत्रमा जितिया पर्व सुरु भएको छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार पर्व शुरु भएको हो ।
आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
भोलि बिहान चार बजेदेखि उपवास बसी निराहार व्रत बसी पर्सि बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले नदी, पोखरी, सागरमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् ।
आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनु भन्दा पहिल्यै व्रतालु महिलाहरु केही खानेकुरा ओठमा लगाउनुपर्छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ ।

