Friday, June 5News That Matters

मेयर/अध्यक्षका दशैं

उदयपुर, असोज २१ गते
सबैको घरघरमा दशैँ भित्रिनुका साथै आजको साडे १० बजेदेखिको साईतबाट टिका ग्रहण खुलेको छ । बर्ष दिनको यस पर्वलाई हासि खुसी र उमंगका साथ मनाई राखिएको छ । उदयपुरको स्थानीय सरकारका प्रमुखहरुले पनि यस पर्वलाई विशेषरुपमा मनाइरहेका छन् । पूर्णपुष्टिसंग आज सम्पर्क हुन सकेका स्थानीय सरकार प्रमुखहरु अधिकांशले पारिवारिक भेटघाट, इष्टमित्रसंगको जमघटका साथ दशैं मनाउने, टिका ग्रहण गर्ने बताएका छन् । कसले कसरी मनाउदै छन् त ? पूर्णपुष्टिको छोटो रिपोर्ट :

स्थानीय तह : कटारी नगरपालिका, मेयर : ज्ञानेन्द्र श्रेष्ठ

आज टिकाको साईट (विहान १०ः३५) मै आमा नानीमैया श्रेष्ठको हातबाट टिका ग्रहण गरेका कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ पारिवारिक भेटघाटका साथ दशैं मनाइरहेका छन् । मेयर श्रेष्ठले दशैंको अवसरमा नगरबासी तथा देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना ब्यक्त गरेका छन् । उनले आम नगरबासी र सिंगो कटारी नगरपालिकाको विकास र समुन्नतीका लागि जुट्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

स्थानीय तह : चौदण्डीगढी नगरपालिका, मेयर : खगेन्द्र राई

७२ वर्षिया आमा रामकुमारी राईको हातबाट टिका ग्रहण गरी दशैं मनाइरहनु भएका चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई पारिवारिक भेटघाट र आफन्तजनसंगको जमघटका साथ दशैं मनाईरहेका छन् । दशैंलाई मान्यजनको आशिर्वाद लिने, पारिवारिक भेटघाट र विशेष रमाईलो पर्वको रुपमा मनाउनु पर्ने बताए । यसलाई विविध सोच भन्दा पनि पारिवारिक खुसी, सामाजिक र सिंगो देशकै खुसीका लागि मनाउन र वर्ष दिनको रिसराग मेटाइ आपसी भाइचारा र सहिष्णुता जगाउन सकौं भन्ने सन्देश मेयर राईको रहेको छ ।

स्थानीय तह : बेलका नगरपालिका, मेयर : दुर्गाकुमार थापा (स्वस्ती)

टिकाको दुईदिन पछि मात्र टिका ग्रहण गर्न मिल्ने अवस्था रहेको बेलका नगरपालिकाको मेयर दुर्गाकुमार थापा (स्वस्ती) को पारिवारिक भेटघाट र जमघटका साथ दशैं मनाइरहेका छन् । उनले बुवा सुर्यबहादुर थापा र आमा विष्णु माया थापाको हाटबाट टिका ग्रहण गर्ने भएका छन् । दशैंलाई गक्ष अनुसार मनाउन सुझाव दिदै दशैंमा बढि जाँडरक्सी सेवन नगर्न र जुवातास जस्ता कुरामा समय र पैसा वर्वाद नपार्न सन्देश उनको रहेको छ ।

स्थानीय तह : रौतामाई गाउँपालिका, अध्यक्ष : गजेन्द्रबहादुर खड्का

साईतमै ७७ वर्षिय बुवा खड्गबहादुर खड्का र ६५ वर्षिय आमा डम्बरकुमारी खड्काको हातबाट टिका ग्रहण गरेका रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का पारिवारिक जमघटका साथ दशैं मनाईरहेका छन् । दशैंलाई भड्किलो पाराले नमनाउन सन्देश राख्दै दशैं सबैको लागि राम्रो होस् । सबैको मेलमिलाप होस् भन्ने कामना गरेका छन् ।

स्थानीय तह : ताप्ली गाउँपालिका, अध्यक्ष : उद्धवसिंह थापा

पारिवारिक जमघटका साथ दशैं मनाईरहेका ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बुवा बलबहादुर थापा र आमा कृष्णमाया थापाको हातबाट टिका ग्रहण गरे । दशैंले सबैलाई हाँसीखुसी र उमंग छाउन् भन्ने कामना उनले गरेका छन् । अध्यक्ष थापाले पालिकाबासी साथै देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।