
पूर्णपुष्टि, असार १३
मोरङमा आफ्नै छोरा बाट बाबु मृत्युको सिकार भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न भएको विवादमा मोरङको सुनवर्षी स्थीत आफ्नै छोराले ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् ।
हत्यामा संलग्न सुनवर्षी नगरपालिका–४ का ४० बर्षिय छोरा दयालु ताजपुरियालाई मोरङ प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको र ज्यान मार्ने उद्योगमा उनलाई कार्वाही चलाउन अदालत बाट म्याद थप गरि बाँकी अनुसन्धान प्रहरीले सुरु गरेको मोरङ निमित्त प्रहरी प्रबक्ता मञ्जील मुकारुङले बताउनुभयो ।
मुकारुङका अनुुसार मदिराको नसामा रहेका ताजपुरियाले ढुङ्गाले प्रहार गरेर बृद्ध बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् । शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछ्यानमा पुगेर ढुङ्गाले वृद्ध बुवाको टाउकोमा हानेको खुलेको मुकारुङको भनाइ छ ।
छोराको ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुनेभन्दै भारतको सिलिगुडी अर्थात अरु नै सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदियो । तर थप उपचारका लागि नलगिकन गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।
डिएसपी मुकारुङका अनुसार टिनतालको आज (आइतबार) बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको हो । कोसी अस्पतालले रेफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण वृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान नसकेको पाइएको छ ।
खर्च अभावका कारण थप उपचार पाउननसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले बाबु–छोरीबीच मापसेका विषयलाई लिएर बढेको विवाद हत्याको घटनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेसँगै टिनतालले सम्झाईबुझाई गर्दै त्यसो नगर्न भनेपछि बाबु–छोराबीच विवाद बढेको पाइएको प्रहरी स्रोतले बतायो ।
