Monday, June 29News That Matters

मौरीको विषबाट उपचार गर्ने केन्द्र स्थापना हुने

पूर्णपुष्टि, चैत ७

चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि थेरापी) केन्द्र स्थापनाको काम शुरु गरिएको छ ।

मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको पाँच लाख रुपैयाँको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको छ । त्यस केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ ।

अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालय जनाईएको छ । केन्द्र सञ्चालन आउनु अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने जनाईएको छ ।

यस केन्द्रमा मह, कुट, कुटको चोप, बीभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने कार्यालयले जनाएको छ ।

मौैरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ । नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौँमा रहेको छ । यसको विस्तार गर्नसकेमा मौरी पर्यटन विकास गर्न सकिने देखिन्छ ।

मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तार बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने जनाईएको छ ।

मौरीबाट उत्पादन हुने शाही खुराक, पोलन, कुट, मौरी विषलगायतका अन्य उत्पादनबाट विभिन्न रोगको उपचार हुने भएकाले यी वस्तु उत्पादनमा जोड दिन केन्द्र सञ्चालन गर्न लागिएको जनाइएको छ ।