Saturday, June 27News That Matters

म्याद सकिएका खाद्य वस्तु बिक्री गर्ने २२ वटा पसल बन्द

पूर्णपुष्टि, जेठ २८ गते । 

भोजपुरमा म्याद सकिएका अखाद्यवस्तु विक्रि वितरवण गने २२ वटा पसल जिल्ला प्रशासनले बन्द गरेको छ । लकडाउनको समयमा म्याद सकिएको खाद्य वस्तु विक्री वितरण गरेको जनगुनासो आएपछि प्रशासनले छड्के अनुगमन गर्दा सदरमुकाम आसपासको २२ वटा पसलमा फेला परेको र विक्रि वितरणमा रोक लगाएको हो ।

ग्रामीण भेगमा बढी मात्रामा सामान बिक्री गर्ने भोजपुरको दावा बलौटेमा रहेको लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीट हाउसलगायत गरी २२ वटा पसलहरुको बिक्रीमा रोक लगाएको हो ।

बिक्रीका लागि राखिएका चामल, दाल, तेललगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मिति फेला नपरेपछि बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ । मिति सकिएका सामानहरु लकडाउनलाई उपयोग गरेर व्यापारीले बेच्न थालेकोको गुनासो आएपछि अनुगमनलाई तीव्रता दिएको जनाईएको छ ।

पछिल्लो समय लकडाउनको मौका छोप्दै उपभोक्ताहरु ठग्ने प्रवृति बढेसँगै प्रशासनले निगरानी बढाएको छ । यो अवधिमा सदरमुकामसँगै आसपासका क्षेत्रहरु सुन्तले, दावाको बलौटेमा रहेका पसलबाट झण्डै ६५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

कानुन विपरीत अखाद्य वस्तु बिक्री गर्ने पसललाई कानुनी दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । म्याद गुज्रिएको वस्तु बिक्री गरेमा ५० हजार रुपैयाँसम्म जरिबाना र ५ वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान छ ।