
पूर्णपुष्टि, फागुन १९ गते ।
दुईचार रुपैया कमाई गर्न भनि च्याउखेतीमा लागेको उदयपुर गाईघाटका सर्बसाधारण कृषकहरुलाई ठगेर एकव्यक्ति फरार भएका छन् । खोटाङको तत्कालिन छोरम्बु गाविस वडा नं. २ मा घर रहेका करिब ४७ वर्षिय युवराज श्रेष्ठले कृषकहरुलाई ठगेर फरार भएका हुन । श्रेष्ठले उदयपुरको सदरमुकाम गाईघाटमा डेरा बसेर अर्गानिक कृषि तथा च्याउ कृषक समुहको नाममा ४६ जना कृषकहरुबाट ७ लाख ३० हजार रुपैया ठगेका हुन् ।
पिडितहरुले गत २०७३ चैतमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा श्रेष्ठ विरुद्ध उजुरी नै दिएका छन् । दोषीलाई पक्राउ गरी कारवाही गर्न र पैसा फिर्ता गराईदिन भन्दै उजुरी दिएपछि श्रेष्ठले चैत ९ गते सातादिनभित्र २ लाख जम्मा गरिदिने र त्यसपछिको हरेक महिनामा दुईलाखका दरले जम्मा गरिदिई चुक्ता गरिदिने कागज गरिदिएका छन् । तर कागज बमोजिम नगरी सबैसंग सम्पर्क विच्छेद गरेर फरार रहेका छन् । कहिले काँही काठमाडौं, झापा, गाईघाट लगायतका ठाउँमा झालक झुलुक देखा पर्ने श्रेष्ठ लुकीछिपी हिड्ने गरेका छन् । प्रहरीको रोहबरमा बोक्से निवासी आप्mनै बहिनी रेखा श्रेष्ठलाई साक्षी राखेर कागज गरेका श्रेष्ठले प्रहरीसमेतलाई ढाटेर सर्बसाधारण कृषकहरुमाथि चारवर्षदेखि अन्याय गरिरहेका छन् । उनी पहिलेका मोवाईल नम्बरसमेत परिवर्तन गरेर बेपत्ता भएका छन् ।
समुको अध्यक्ष रहेका श्रेष्ठ र कोषाध्यक्ष रहेकी तत्कालिन जाँते गाविस वडा नं. २ की चन्द्रकुमारी खड्का विरुद्ध पनि श्रेष्ठसंगै उजुरी लगाइएको छ । उनीहरु एकसाथ बेपत्ता भएका थिए । पछिल्लो समय खड्का गाईघाटमा देखा पर्ने गरेको पिडित कृषकहरुले बताएका छन् ।
श्रेष्ठ र खड्काले समुहको नाम भजाएर सर्बसाधारण कृषकहरुसंग मासिक बचत, शेयर सदस्य शुल्क जस्ता नामबाट लाखौं ठगेका थिए । यस अलवा समुहको नाममा विउविजन, तालिम, गोष्ठि जस्ता शिर्षकमा आउने रकम तथा बजारमा च्याउ बेचिदिने भन्दै कृषकहरुको च्याउ उधारोमा खरिद गरेर लाखौं ठगी गरेको आरोप छ । व्यक्तिगत चिनजान र सम्बन्ध बनाउदै लाखौं रकम सापटी लिई नतिरेको गुनासो पनि सर्बसाधारणको छ ।
भएसम्मको लगानी गरेर च्याउखेती गर्दै आएका ४६ जना कृषकहरुको लगानीसमेत डुब्नेगरी श्रेष्ठले ठगी गरेपछि अधिकांश कृषकहरु विस्थापित भएको पिडित मध्येका एक प्रदिप श्रेष्ठले बताउनुभयो । कृषकहरुले आप्mना डुबेका पैसा नउक्सेसम्म उनलाई नछाड्ने बताएका छन् ।
