
पूर्णपुष्टि, वैशाख २० ।
क्वारेन्टाइनमा बसेका उदयपुरका एक युवाले आत्महत्या गरेपछि क्वारेन्टाइनमा बस्नेहरुका लागि मनोपरामर्शको खाँचो देखिएको छ । रौतामाई गाउँपालिकाको वडा नं. ७ राजाबास (मुर्कुची) स्थित क्वारेन्टाइनमा एक युवाले हिजो झण्डिएर आत्महत्या गरेका थिए । श्रीमतीसंगै छुट्टै कोठामा बसेका युवाले राती आत्महत्या गरेका थिए ।
युवाले आत्महत्या गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । तथापी अहिलेको अवस्थामा क्वारेन्टाइनमा बस्नेहरुका लागि मनोपरामर्शको जरुरी देखिएको छ ।
क्वारेन्टाइनमा बसिरहदा एकाग्र हुने, बाहिरको गतिविधि, खबर, सञ्चारहरु प्राप्त नहुने, दैनिक जसो कोरोनाको संक्रमण बढ्दो र फैलदो सुनिने जस्ता कुराले आत्मबलमा ह्रास आउन सक्ने भन्दै उनीहरुलाई मनोविमर्शको आवश्यकता देखिएको हो ।
मुर्कुचीमा युवाको आत्महत्याबारे एकातर्फ अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ क्वारेन्टाइनमा बसेकाहरुलाई मनोविमर्शको जरुरी पनि देखिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।
यसैक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले आज रौतामाईको मुर्कुची र उदयपुरगढी गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाहरुलाई मनोविमर्श दिएको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले मुर्कुचीको क्वारेन्टाइनमा बसेकालाई मनोविमर्श सेवा पनि दिइएको बताउनुभयो । आजै उदयपुरगढीमा पनि यो सेवा दिएको जनस्वास्थ्यले जिल्लाका अन्य क्वारेन्टाइनहरुमा समेत पालिकासंग समन्वय गरी मनोविमर्श सेवाको व्यवस्था मिलाउने उहाँले बताउनुभयो । मुकुृची र उदयपुरगढीमा रहेका क्वारेन्टाइनका ब्यक्तिहरुको आरडीटी परिक्षणलाई गएको जनस्वास्थ्यको टोलीसंगै मनोसामाजिक परामर्शकर्ता अम्बिका मगरले मनोविमर्श सेवा दिनुभएको थियो ।
