
पूर्णपुष्टि, कात्तिक २८
मुगुको पर्यटकीय स्थल रारा ताल हेर्न आउने पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । लकडाउनले सुनसान बनेको रारा तालमा लकडाउन हटेसँगै चहलपहल सुरु भएको हो ।
अहिले बिदाको मौका पारेर घुम्न आउनेहरु बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । करिब सात महिना सुनसान बनेको रारा तालमा अहिले दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाइमार्गबाट आउने गरेको जनाएको छ ।
रारा आसपासका होटेल र गाउँ पनि पर्यटकले भरिन थालेको छ । यसवर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । रारामा घुम्न जाने पर्यटक बढेकोले रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।
रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायीहरुले जनाएको छ ।
