
बैशाख ३
लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका घर परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।
यस अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको छ भने ३ सय ३३ परिवारले लगाएका अन्नबालीमा क्षति पुर्याएको छ । पशुक्षति भएका परिवारलाई १ लाख २९ हजार र अन्नबाली क्षति भएका परिवारलाई १७ लाख ८२ हजार रुपैयाँ राहत प्रदान गरिएको निकुञ्जले जनाएको छ ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको जनाएको छ । मानव वन्यजन्तुबीच हुने द्वन्द्वको न्यूनीकरण गर्ने तथा पीडितको घाउमा मलम लगाउने उद्देश्यले राहत वितरण गरिएको जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षय कोषको ब्याजबाट राहत वितरण हुने गरेको छ । वन्यजन्तुबाट भएको मानवीय क्षति, अन्नबालीमा भएको क्षति, पशुधनको क्षति र घरगोठको क्षतिअनुसार राहत दिने गरिएको छ ।
हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जङ्गली बँदेल, ध्वाँसे चितुवा, जङ्गली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिङ्गरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।
