Sunday, June 28News That Matters

रुकुम पश्चिममा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

पूर्णपुष्टि, असार १८

रुकुम पश्चिममा पहिलो पटक पीसीआर विधिबाट कोराना परीक्षण  सुरु भएको छ । चौरजहारी नगरपालिकाले आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारदेखि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै प्रयोगशाला मेसिन सञ्चालन गरिएको छ । अब स्वाब सङ्कलनको नतिजा हप्तौँ कुर्नु पर्ने र शङ्काकैबीच जनता त्रासमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाले जनाएको छ ।

बुधबार बेलुका प्रयोगशालामा जडान गरिएको मेसिनबाट पहिलो पटक परीक्षण गरिएका सबैको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

केन्द्र, प्रदेश र रुकुम पश्चिमका सबै पालिकाको पहलमा पीसीआर मेसिन जडानपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कोरोना सङ्क्रमण भए नभएको पत्ता लगाउन सङ्कलन गरिएको स्वाब सुर्खेत, जुम्ला लगायतमा रहेको प्रयोगशालामा पठाउँदा धेरै दिन कुर्नु पर्ने बाध्यता हटाउन चौरजहारीमै प्रयोगशाला स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

मेसिन खरिद र प्रयोगशाला सञ्चालनका लागि पूर्वमन्त्री तथा सङ्घीय सांसद जनार्दन शर्मा, प्रदेश सांसद गोपाल शर्माले विशेष पहल गर्नुभएको नगरपालिकाले जनाएको छ ।

मेसिन जडान र परीक्षणको काममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निरेश थापा, निर्देशक धर्मराज गोसाईँ र प्रयोगशाला प्रमुख विवेक पुनलगायतको टिमले महत्वपूर्ण सहयोग गरेको नगरपालिकाले जनाएको छ ।