Friday, April 17News That Matters

रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो

चैत ३१ ।
वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ । उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।