Thursday, May 28News That Matters

लकडाउनकाे पूर्णपालना र सामाजिक दुरी ख्याल नभएकाे प्रदेश सर्वदलीय कमिटिकाे ठहर

पूर्णपुष्टि, चैत २७ ।

१ नं. प्रदेशको सर्बदलीय कमिटिले लकडाउनको पूर्ण पालना नभएको र सामाजिक दुरी ख्याल नगरिएकोले प्रकोपले माहामारीको रुप लिई भयावह स्थिति श्रृजना हुन सक्ने कुरामा सरकारलाई सचेत गराएको छ ।

केही दिनअघि विभिन्न चार ठाउँको प्रदेशस्तरको क्वारेन्टाइनहरुको अनुगमन गरेको कमिटिले प्रतिवेदन सार्बजनिक गर्दै यस्तो सरकारलाई सचेत गराएको हो ।

तोकिएको क्वारेन्टाईन स्थल र अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य सम्बन्धि अतिआवाश्यक सामाग्रीहरुको (पिपिई, थर्मलगन, माक्स आदि) अभावको कारण भएका स्वास्थ्यकर्मी चिकित्सकहरु समेत संक्रमण फैलिएमा परिचालित हुन कठिनाइ हुने स्थिति देखाएको छ ।

स्वाव–ल्याव, आईसोलेशन बेड, भेन्टीलेटर, डेडिकेटेट एम्वुसलेन्सको कमी रहेको देखाएको छ भने, प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा संयन्त्र र राजनीतिक दलहरुबीच आवाश्यक समन्वयको पनि कमी रहेको पाइएको छ ।

सिमा नाकाबाट लुकिछिपि नागरिकहरुको आवतजावतले अत्यन्त नकरात्मक अवस्थाको श्रृजना हुनसक्ने खतरा देखाइएको छ । भण्डारन औषधि सकिंदै गएको र अन्य रोगको उपचारमा समेत कठिनाई हुने संकेत देखिएको छ । प्राईवेट अस्पताल तथा क्लीनिकहरु गैर जिम्मेवार र अत्यन्तै स्वार्थी बन्दै गएको जनगुनासो पाइएको उल्लेख छ ।

क्वारेन्टाईनको बसाई जेल जस्तो भएको, बस्नेको मनोविज्ञान र १४ दिन पुग्ना साथ घर पठाईहाल्नु पर्ने माग आउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । खाद्यन्न आपूर्तिमा असहजता, कृतिम अभाव र कालो बजारी अझ बढने संकेत अनुगमन टोलीले देखेको छ भने लकडाउनको कारण जनचेतना जगाउन र दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा जटिलता देखिएको जनाएको छ ।

राहत तथा बिकास निर्माण समबन्धि बजेटबारेको नीतिगत तथा कानुनी अस्पष्टता र जटिलता देखिएको र बैदेशिक रोजगारमा गएकाहरुको परिवार, अध्ययन गर्ने बिद्यार्थी र ज्याला मजदुरीमा घर छाडेर बसेकाहरुको ब्यावस्थापनमा समस्या देखिएको पनि जनाएको छ ।

ठाउँ ठाँउमा राहत वितरणलाई भिडले छोप्ने, सामाजिक दुरी कायम नभएको, तरकारी बजारले अनुसाशन तोडिएको, राहत वितरण प्रभावकारी नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा कोभिड–१९ ले उत्पन्न संकटको सामनाका लागि स्थानीय तह (सरकार), प्रदेश सरकार, संघ र प्रदेश जनप्रतिनिधिहरुकोे उपस्थिती, तत्परता र सकृयता भने राम्रो रहेको अनुगमन प्रतिवेदनले जनाएको छ ।

टोलीले नेपाली सेनाको सुूर्यदल गुल्मको व्यवस्थापनमा मोरङको मिकलाजुङ ४ टाँडीमा रहेको क्वारेन्टाइनको अनुगमन गरेको थियो । अन्तराष्ट्रिय मापदण्ड अनुसारको ५० वटा पालमा २०० वटा बेड रहेको उक्त क्वारेन्टाईनमा १ सय २८ जना रहेका छन् । ६ जना १४ दिन क्वारेन्टाईन पुरा गरि घर फर्किसकेका छन् भने बाँकीमा १० जना भारतीय र अन्य १, २, ५, कर्णली र सुदुरपश्चिम प्रदेशका नागरिक छन् । २ पटक मेडिकल काउनशिलिङ भएको तर कुनै रोग नदेखिएको पाइएको छ ।

त्यस्तै मेची अस्पताल, चन्द्रगढी, झापामा ८ वटा आईसोलेशन बेड रहको र ७ जना आईसोलेशन बेडमा रहेका छन् । १ भेन्टीलेटर, १ आईसीयु बेड रहेको छ । थप २५ बेड तयार हुदै गरेको अनुगमन टोलीले पाएको छ ।

कलवलगढी चन्द्रगढी झापामा नेपाली सेनाको सुरक्षा र ब्यावस्थापनमा ९३ वटा क्वारेन्टाईन बेड रहेका छन् । उक्त ठाउँमा २१ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै रण शार्दुल गण, कटारी १ बेलसोत, उदयपुरमा नेपाली सेनाको सुरक्षा र कटारी नगरपालिकाको ब्यावस्थापनमा २६ जना क्वारेन्टाईनमा रहेको प्रतिवेदनमा उल्लेख छ । अनुगमन टाेलीले प्रतिवेदनमार्फत २८ बुदे समस्या समाधानका लागि सुझावहरू दिएकाे छ ।