Thursday, May 28News That Matters

लकडाउनको १८ दिनमा नाैं सय सवारी नियन्त्रणमा

पूर्णपुष्टि, चैत २९ ।

उदयपुरमा लकडाउनको १८ औं दिनसम्ममा नौ सय सवारी साधनहरु प्रहरी नियन्त्रणमा परेका छन् । यसले सवारीसहित लकडाउनको अवज्ञा गर्नेको संख्या ठूलो देखिएको छ ।

प्रहरीले कडाई गर्दागर्दै पनि अवज्ञा गरेको अवस्थामा ती सवारीसाधनहरु नियन्त्रणमा परेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।

एसपी मगरका अनुसार लकडाउनमा अतिआवश्यकीय काम बाहेकमा बाहिर निस्कन नपाउने हुन्छ । सवारी साधनहरु प्रशासनको पासविना सञ्चालन गर्न मिल्दैन तर, ती साना तथा ठूला सवारी साधनहरु विना पास, अतिआवश्यक काम बाहेकमा सञ्चालन भएको पाइएपछि नियन्त्रणमा परेको उहाँले बताउनुभयो ।

नियन्त्रणमा पर्ने सवारी साधनहरुमा दुइपांग्रे मोटरसाईकल तथा स्कूटी सबैभन्दा ठूलो संख्यामा छन् । मोटरसाईकल तथा स्कूटी ४ सय ८१ वटा छन् । साना तथा ठूला चारचक्के सवारी साधन १ सय ५२ वटा छन् । त्यस्तै अटो १० वटा र साईकल १ सय २० वटा रहेका छन् । सवारी साधनको चावीमात्र १ सय ३७ वटा नियन्त्रणमा  रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कतिपय अवस्थामा प्रहरीले सवारी साधनको हावा खोलेर फर्काइदिनेसमेत गरेको थियो ।

एसपी मगरले मानिसहरु लकडाउनमा बजारको अवस्था कस्तो छ भन्दै रमित हेर्न आउनका लागिसमेत सवारी साधनको प्रयो गरेको पाइएको बताउनुभयो । यस अलवा एकलिटर दुध लिनका लागि गाडी प्रयोग, १ किलो आलुका लागि एककिलोमिटर भन्दा कम दुरीमा पनि मोटरसाईकल प्रयोग गर्नेहरुको पनि अत्याधिक भेटिएका थिए । कोही मानिसहरु आफुलाई प्रतिष्ठित भन्दै लकडाउनको अवज्ञा गर्दै सवारी प्रयोग गरेको पाइएको र प्रहरीसंग डिस्कस समेत गर्ने गरेको पाइएको थियो ।

लकडाउनको सुरुको दिन सबैभन्दा बढि सवारी नियन्त्रणमा परेका थिए । सुरुको दिनमा ४ सय ६२ वटा नियन्त्रणमा परेको थियो । त्यसपछिका दिनमा क्रमिकरुपले संख्या कमि हुदै गएपनि आजसम्म सवारी साधन नियन्त्रणमा परे । प्रहरीको कडाई र यति लामोसमयसम्म आउदा पनि लकडाउन अवज्ञा गर्दै सवारी चलाउनेहरु देखिएका हुन् ।

प्रहरीले सदरमुकाम गाईघाटमा कडाई गरेसंगै ठूलो संख्यामा सवारी साधनहरु नियन्त्रणमा परेका हुन् । अवका दिनमा ग्रामीण भेगमासमेत कडाइ बढ्दै गएको प्रहरीले जनाएको छ । आजबाट प्रहरीले सवारी साधन नियन्त्रण मात्र नभई अवज्ञा गर्ने मानिसलाई समेत नियन्त्रणमा लिएर मुद्दासम्म चलाउन सुरु गरेको छ ।