
पूर्णपुष्टि, असार २१
लकडउनको विच आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि नमूना (पाइलट) जनगणना सकिएको छ । नमुना जनगणामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको हो ।
नमूना जनगणनाको गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६ सय १० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना संक्रमण र लकडाउनबीच ३ महिना ढिलो गरी नमूना जनगणनामा ५० प्रतिशत जति सर्वेक्षण गर्न सकिने अनुमान गरिएकोमा तोकिएका ११ हजार ६ सय १० मध्ये १० हजार घर परिवारमा सफल सर्वेक्षण गरिएको विभागले जनाएको छ ।
जनगणना कार्यतालिका तथा सामग्री सुधार गर्न गरिएको पाइलट जनगणनाको गणना कार्य गत सोमबार सकिएको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराको साथ हुने १२ औँँ राष्ट्रिय जनगणना २०७८ को परीक्षण सर्वेक्षणको रुपमा पाइलट जनगणना गरिएको हो ।
महामारी नियन्त्रणका लागि गरिएको लकडाउन सरकारले खुकुलो गर्ने बित्तिकै असार १ गतेदेखि पाइलट जनगणना सुरु गरिएको थियो । ‘लकडाउन नभएको भए चैत ९ गतेदेखि नै सुरु हुनुपर्ने थियो । त्यसअघि नै गणक तथा सुपरीवेक्षक नियुक्त गरी तालिमसमेत दिइसकिएको हुनाले अहिले तुरुन्तै गणना सुरु गरी सहजै सम्पन्न गरेको जनाएको छ ।
अवस्था सामान्य नभइसकेको भए पनि एकाध घरबाहेक सबैमा सहजै गणना कार्य भएको जनाईएको छ । एकाध घरहरूमा किन आएको ? भनी प्रश्न गरिएको भए पनि सबै ठाउँमा गणना प्रश्नावली अनुसार विवरण सङ्कलनमा कुनै समस्या नआएको जनाईएको छ । गणकहरूलाई सामाजिक दूरीका नियम पालना गराई मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सुरक्षा सामग्रीसहित गणना क्षेत्रमा पठाइएको थियो ।
लकडाउनका बेला सहरी क्षेत्रमा भाडामा बसेका मानिसहरू आआफ्ना घर गएका कारण भाडामा बस्नेको विवरण भने सङ्कलन गर्न असमर्थ भएको जनाईएको छ ।
नमूना जनगणनामार्फत गणना सामग्री, गणना क्षेत्र नक्साको शुद्धता, प्रश्नावली र निर्देशिका, जनशक्तिको पर्याप्तता, प्रविधि, जनगणना उपकरण र जनगणना प्रक्रियाको समीक्षा गरिनेछ ।
केही दिनमा नै पाइलट जनगणनाको नतिजा प्रतिवेदन तयार गरिने विभागले जनाएको छ । त्यस प्रतिवेदनको आधारमा सर्वेक्षणको टेबुलेसन योजना, विषयगत प्रतिवेदनको ढाँचाको तयारी, सरदर १ गणकले दैनिक गर्ने गणनाको अनुमान लगायत जनगणनाको मुख्य कार्यतालिकामा गर्नुपर्ने हेरफेरका विषयमा विचार गरिनेछ ।
नमूना जनगणनाका लागि १५ जना सुपरीवेक्षक, ६० जना गणक र ४७ जना प्रशासनिक कर्मचारी गरी जम्मा १ सय २२ जना जनशक्ति संलग्न रहेको विभागले जनाएको छ । सुपरीवेक्षक र गणकहरू करारमा नियुक्त गरिएका हुन् ।
सबै प्रदेश, हिमाल, पहाड, तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना जनगणना सञ्चालन गरिएको छ । प्रत्येक प्रदेशका दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना जनगणना सञ्चालन भएको विभागले जनाएको छ ।
प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौँ, गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्युठान, कर्णाली प्रदेशको सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला जिल्ला नमूना जनगणनाका लागि छनौट गरिएको थियो । गणना गरिएको वडाहरू भने केही सुगम र केही दुर्गम गरी छनौट गरिएको जनाएको छ ।
आगामी राष्ट्रिय जनगणनामा कागज–कलम र ट्याबलेट गरी मिश्रित खालको गणना विधि प्रयोग गर्ने केन्द्रीय तथ्याङ्क विभागको योजना छ । त्यसको परीक्षणस्वरुप नमूना जनगणनामा पनि केही क्षेत्रमा ट्याबलेटमार्फत विवरण सङ्कलन गरिएको छ ।
नमुना गणनामा ६० जना गणकमध्ये १५ जनाले ट्याबलेटको प्रयोग गरेका थिए । महानगर र उपमहानगरहरुका छानिएका वडाहरूमा ट्याबलेटमार्फत सर्वेक्षण गरिएको हो ।
