
पूर्णपुष्टि, जेष्ठ ५
आज बिहान लमजुङ केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी ६ जना घाइते भएको छन् भने २७ घर पूर्णरुपमा क्षतिग्रष्त भएको छ ।
३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीकाअनुसार मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।
त्यस्तै मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका–८ ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका हुन् ।
घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
