Tuesday, April 21News That Matters

लिम्चुङबुङ गाउँपालिकामा नेकपाको सपथग्रहण सम्पन्न

पूर्णपुष्टि, कार्तिक ३०

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँपार्टी कमिटिले सपथग्रहण सम्पन्न गरेको छ । संघीय सांसद तथा नेकपा प्रदेश नं.१ का सचिव सुरेश कुमार राईले ७५ जना गाउँ कमिटि सदस्यलाई सपथग्रहण गराउनु भएको हो । सपथग्रहण समारोह पश्चात नेकपा लिम्चुङबुङले विधिगत रुपमा पूर्णता पाएको छ ।

सपथग्रहण गर्नेमा पूर्व एमालेबाट ४० जना र पूर्व माओवादी केन्द्रबाट ३५ जना सदस्य रहेका छन् । कमिटीको अध्यक्षमा पूर्व एमालेका भलराज राई र सचिव पूर्व माओवादीका झनक विश्वकर्मा रहेका छन् । कमिटीका सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कट्टिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सांसद राईले गाउँ कमिटी सवै सदस्य, वडा कमिटी अध्यक्ष र सचिव समेतलाई सामुहिक रुपमा सथप गराएका थिए । गाउँकमिटी, वडा कमिटी र नव प्रवेशिका सबैलाई बधाई दिदै नेकपालाई संधै शिरमा राखेर अघि बढ्न सुझाब समेत दिएका छन् । राई भन्छन्–‘नेकपाको मूख्य उदेश्य भनेको देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउनु हो, त्यसका लागि नेकपाको सरकार निरन्तर लागि रहेको बताए ।’

राई थप्छन्–‘यस क्षेत्रको सहजताका लागि सडक, विद्युत, खानेपानी लगायत विभिन्न सुधारका योजनामा बजेट व्यवस्थापन गरेको भन्दै, २ बर्षभित्रमा सवै पालिकाबासीको घर–घरमा विद्युत जडान गरीसक्ने योजना रहेको बताए । त्यस्तै, कोशी करिडोर निर्माणले लिम्चुङबुङको भबिष्य उज्वल रहेको भन्दै उक्त प्रोजेक्टलाई निरन्तरता दिनका लागि लागिरहेको बताए ।

त्यस्तै, नेकपा उदयपुर जिल्ला इञ्चार्ज बलदेब चौधरीले लिम्चुङबुङ गाउँपालिका पर्यटनको सम्भाव्यता भएकोले यस क्षेत्रमा ‘हिलसिटी’ को अवधारणा अघि सार्नुपर्ने सुझाव दिएका छन् । उनी भन्छन् हिजो उदयपुरको कर्णाली भनेर परिचित लिम्चुङबुङ स्थानीय सरकारको उपस्थिति पश्चात बिकास निर्माणको हिसावले निकै फड्को मारेको बताए ।

त्यसैगरी लिम्चुङबुङ गाउँपालिका अध्यक्ष तथा नेकपा उदयपुर जिल्ला कमिटी सदस्य मेजर कुमार राईले लिम्चुङबुङ पर्यटनको हिसावले स्वर्गको टुक्रा भएको भन्दै सर्वाङ्गीन बिकासको निम्ति सरकार निरन्तर लागिरहेको बताए । राई भन्छन्–‘हिजोको लिम्चुङबुङ र आजको लिम्चुङबुङ विकास र समृद्धिको हिसावले निकै फड्को मारिसकेको बताए ।’

त्यसैगरी, नेकपा उदयपुर सह इञ्चार्ज मञ्जुकुमारी चौधरी, नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवश) जिसस प्रमूख खड्ग परिवार, प्रदेश सांसद नारायण बुर्जामगर, बिमल कार्की लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, कार्यक्रममा जल्ला, गाउँ तथा नगर कमिटीका नेता, स्थानीय बुद्धिजिवी, पत्रकार र पालिका भित्रका नेकपा समर्थक नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहको थियो । कार्यक्रम पालिकाको केन्द्र बाराहामा सम्पन्न भएको थियो । अतिथिहरुलाई कार्यक्रमको बिचबिचमा विभिन्न जातीय झांकी सहितको नृत्यले स्थानीय कलाकारद्धारा स्वागत गरिएको थियो ।

जसपा र नेकाका दर्जनौ कार्यकर्ता पार्टी प्रबेश

सपथग्रहण कार्यक्रमकै अवसरमा जनता समाजबादी फोरम पार्टीका काठमाण्डौ उपत्यका इञ्चार्ज ज्ञान बहादुर राई (गेन) लगायत ३० जना भन्दा बढि नेता तथा कार्यकर्ता नेकपामा प्रबेश गरेका छन् । नव प्रबेशिलाई नेकपाका सबै नेताहरुले पूmलमाला र अबिर लगाएर सामुहिक रुपमा स्वागत गरेका थिए ।