Sunday, June 21News That Matters

वडा नं. १६, त्रियुगा नपाकाे आयाे यस्ताे अपिल : टाेल वाहिर नजान, घरभित्रै बसिदिन आग्रह, सहयाेगीहरूकाे नाम र नम्बर सार्वजनिक

पूर्णपुष्टि, जेठ ४ ।

त्रियुगा नगरपालिका वडा नं. १६ ले आफ्नाे वडा कोरोना संक्रमणको उच्च जोखिममा परेपछि विशेष सतर्कता र सचेत भइदिन वडाबासीलाई अपिल गरेको छ ।

वडाध्यक्ष मानबहादुर राईले आज वडाबासीको नाममा अपिल जारी गर्दै बेलैमा रोकथाम र नियन्त्रणमा लाग्न सबै वडाबासीलाई अपिल गरिएको छ ।

यस अवस्थाले वडालाई गम्भिर बनाएको उल्लेख गर्दै समयमा नै यसको रोकथाम गर्न नसके भयावह स्थिति आउनसक्ने संकेत देखिएको जनाइएको छ । तथापी, यस अवस्थाबाट भयाभित नहुन, संक्रमितहरुले मनोबल उच्च बनाइ राख्न अध्यक्ष राईले आग्रह गर्नु भएको छ । साथै हरेक नागरिकले सचेतता र सतर्कता अपनाउन र स्वास्थ्यको सबै मापदण्ड अपनाउन अनुरोध गर्नु भएको छ ।

वडाको ५४ जनामा कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएपछि वडौ उच्च जोखिममा रहेको ठहर गरिएको छ । वडाको पूर्वी क्षेत्र बेल्दोभान, जाँते, सरस्वती र पश्चिमी क्षेत्र बेङ्री, भोर्ले, सुकौराका मानिसहरुमा ज्वरो आउने, टाउको दुख्ने विमार देखिएपछि कोरोना परिक्षण गरिएको थियो ।

अहिलेको विपदमा वडाबाट सर्बदलीय सरोकारवालाको बैंठक गराई वडास्तरीय सबै संयन्त्रहरु क्रियासिल गरिएको र कारोना संक्रमण नियन्त्रणका पहल र प्रयासहरु गरिएको जनाइएको छ ।

वडाले परिक्षणको दायरा बढाउनु पर्ने देखिएको छ । संक्रमितहरुलाई औषधि, स्वास्थ्य सुरक्षा सामग्री  किट लगायत आवश्यक मनोविमसामाजिक परामर्श  र स्वास्थ्य सेवाको आवश्यकता भएको छ । आर्थिक विपन्न वर्ग, ज्याला मजदुरी गरेर खाने परिवारको मुख्य सदस्यहरुमा संक्रमण देखिएकाले परिवारमा छाक टार्न समस्या देखिएको छ ।  उनीहरुलाई राहत आवश्यक भइसकेको छ । त्यसका लागि वडाले विशेष योजनाका साथ सहयोगको तयारी गरिरहेको जनाइएको छ । अति आवश्यक राहत तथा मानवीय सहयोगका लागि वडाले नगरपालिका र सम्बन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण समेत गराएको छ ।

संक्रमण नियन्त्रणका लागि त्रियुगा नगर कार्यपालिकाको सिफारिसमा जिल्ला कारोना संकट ब्यवस्थापन समितिको निर्णय बमोजिम वडालाई सिल गरिएको अवस्था छ । वडाको बोक्से बेल्दोभान नाका, भान्टावारी सुकौरा नाका र मुर्कूची सुकौरा नाका पुरै बन्द गरिएको जनाइएको छ । यसले नागरिकलाई केही असहज बनाए पनि कोरोना नियन्त्रणको अहिलेको उत्तम विकल्प अपनाइएको हो ।

वडाबासीलाई घरमै बस्न अनुरोध गर्दै बाहिर नजाने, बाहिरबाट आएका मानिसको रेकर्ड राखेर वडा वा स्थानीय प्रशासनलाई जानकारी दिने,, संक्रमितहरुलाई सहयोग गर्ने, उनीहरुको परिवारका सदस्यहरुको निगरानी राख्ने जस्ता काममा सहयोग गर्न अपिल गरिएको छ ।

कोरोना संक्रमितको स्वास्थ्य अवस्था पहिचान गरी सहयोग गर्न, स्वास्थय उपचार, मनोसामाजिक परामर्श र मानवीय सहयोगका लागि वडास्तरीय कोरोना संक्रमित सहयोग तथा निगरानी समिति गठन गरी परिचालन गरिएको छ । दैनिक रुपमा सुचना अपडेट गर्न वडास्तरीय सुचना तथा संचार डेस्कको स्थापना गरिएको छ । संक्रमितहरुको सहयोगका लागि सरोकारवालाहरुसंग समन्वय गर्ने संयन्त्रसमेत बनाई परिचालन गरिएको जनाइएको छ ।

कोरोना संक्रमण विरुद्धको कार्यमा सहयोग, एक्यावद्धता र हातेमालो गर्ने जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सञ्चारकर्मी, ब्यापारी, विभिन्न संघसंस्था, स्थानीय प्रशासन, त्रियुगा नगरपालिका लगायतलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उत्तीको साथ, सहयोगको अपिल गरिएको छ ।

वडाले सहयोगका लागि वडाका जनप्रतिनिधिहरु र विभिन्न विषयगत समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको नाम र नम्बर पनि सार्बजनिक गरेको छ ।