Monday, June 29News That Matters

विद्युतको अग्रिम महसुल तिरी छुट लिन प्राधिकरणको आग्रह

पूर्णपुष्टि, असोज १६

आफैँ मिटर रिडिङ गरी अग्रिम महसुल तिरेर २५ प्रतिशतसम्म छुट लिन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गरेर छुट लिन तथा जरिवानाबाट बच्न ग्राहकलाई आग्रह गरेको हो ।
केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिनुभएको थियो ।

मन्त्री पुनको निर्देशनअनुसार प्राधिकरणले सूचनामार्फत् अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको छ । मिटर रिडर मिटर पढ्न नआएमा वा बिल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिन सक्ने प्राधिकरणले जनाएको छ ।
ग्राहकले मिटर रिडिङ हुने दिनसमेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २५ छुट पाइन्छ । त्यस्तै ८ औंं दिनदेखि १५ औं दिनसम्म बुझाएमा बिल रकम मात्र बुझाए हुने व्यवस्था छ । नियमानुसार १६ औं दिनदेखि ३० औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्छ ।

३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१ औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६० औं दिनभित्र पनि महसुल भुक्तानी नभएका जुनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।