Sunday, April 26News That Matters

विराटनगरको एक हार्डवेयर गोदामभित्र पेस्तोल बरामद, कामदार पक्राउ

पूर्णपुष्टि,वैशाख १४

विराटनगर महानगरपालिका–७ स्थित आर.एम. टे«डर्स हार्डवेयर गोदामभित्र प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ । प्रहरीले गोदाममा कार्यरत्त सुनसरीको इटहरी उप–महानगरपालिका–१७ का २३ वर्षीय सुजित साहलाई पेस्तोल बरामद भएसंगै पक्राउ गरेको हो ।

वरुण धाडेवाको घरको सटर भाडामा लिएर राजकुमार रौनियारले सञ्चालन गरेको हार्डवेयर पसलको गोदामभित्र कटुवा पेस्तोल र दुई राउण्ड गोली भेटिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट उक्त पेस्तोल र गोली ल्याएर राखेको पाइएपछि साहलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका साहले आफूले नै ल्याएर पेस्तोल र गोली हार्डवेयरको गोदामभित्र लुकाएर राखेको बताएपछि पक्राउ गरिएको खड्काले बताउनुभयो ।

भन्सार छली गरेर ल्याइएको तस्करीको सामान लुकाएको आशंकामा प्रहरीसहित राजस्व अनुसन्धान कार्यालय इटहरीको टोली छापा हान्न हार्डवेयरको गोदाममा पुगेको थियो । त्यही क्रममा गोदामभित्र पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ ।

रौनियारले आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । तर कामदार साहले पेस्तोल आफूले राखेको भनेर स्वीकार गरेका कारण प्रहरीले रौनियारलाई पक्राउ गरेको छैन ।

छापा हान्न पुगेको टोलीले पेस्तोल फेला पारेपछि रौनियारले आफ्ना कामदारलाई घटना स्वीकार गर्न लगाएको हुनसक्ने आशंका पनि गरिएको छ । घटनामा रौनियाको संलग्नता भए÷नभएको बारेमा पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।