
पूर्णपुष्टि,चैत्र २८ । नयाँवर्ष बैशाख १ गतेदेखि विराटनगरको सार्वजनिक स्थलहरुमा धुम्रपान,खैनी,चुरोट, पानपराग र गट्कालागाएत सेवन गर्न निषेध गरिएको छ । विराटनगरलाई सफा, सुन्दर व्यवस्थित र विकसित बनाउँने अभियानमा लागेको महानगरले गत पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध(नो हर्न) गर्ने निर्णय भएको थियो ।
महानगरले ध्वनि प्रदूषण नियन्त्रण गर्ने योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । उनका अनुसार केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।
महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको बताएको छ । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ ।
