
पूर्णपुष्टि,वैशाख २३
विराटनगरमा एकैदिन कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट सातजनाले ज्यान गुमाएका छन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सातजना संक्रमितले ज्यान गुमाएका हुन् ।
कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको आज ज्यान गएको हो ।
संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो, भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर ज्यान गएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको अस्पतालले जनाएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको ज्यान गएको छ । एकजना महिला र एकजना वृद्ध पुरुषको ज्यान गएको हो । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति ज्यान गएको हो । अस्पतालकाअनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर भर्ना गरिएको थियो । नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति ज्यान गएको हो । श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको ज्यान गएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए । उनको बुधबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको आज बिहान ८ बजेतिर ज्यान गएको अस्पतालले जनाएको छ ।
