
पूर्णपुष्टि, भदौ ११
विवाह गर्ने आश्वासन देखाएर काठमाडौंमा काम खोज्दै हिँडेकी एक महिलालाई दुबईमा लगेर बेचेको आरोपमा अर्घाखाँचीका एक युवालाई अदालतले थुनामा राख्ने आदेश गरेको छ । साउन १७ मा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अर्घाखाँची घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको थियो । बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको आदेशले उनलाई सुन्धारास्थित केन्द्रिय कारागारमा थुनामा राखिएको छ । २०७७ कार्तिकमा कामको खोजीमा भौतारिएकी महिलालाई श्रेष्ठले ‘म र श्रीमतीको बीचमा राम्रो सम्बन्ध छैन, दुबई गएर पैसा कमाएर आउ अनि तिमीसँग विवाह गरौंला’ भनेर दुबईमा पठाएका थिए ।

दुबईस्थित अरबीको घरमा पुर्याएकी ती महिलालाई अबरीले ‘तँलाई १५ हजार दिराममा किनेको हुँ’ भन्दै कुटपिट र बलात्कार प्रयास गरेपछि उनी त्यहाँबाट भागेकी थिइन् । दुवईस्थित एनआरएनएको सहयोगमा उनी २०७८ असार ९ मा नेपाल फर्केकी थिइन् । नेपालमा आएर घटनाबारे जानकारी गराएपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको हो ।

