
पूर्णपुष्टि,फागुन ५ । जिल्लाको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र दिन प्रतिदिन बढिरहेको बालविवाह न्यूनीकरणका लागि पालिकाले वडाको सिफारिस अनिवार्य गरेको हो ।
गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । यो व्यवस्था गाउँ सभाबाट पारित भइसकेको उनको भनाइ छ ।
जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए । बालविवाह रोक्न हामीले जनचेतना अभिबुद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरेको हौँ तर रोक्न सकिएन, १५÷१६ वर्षको उमेरमा नै बिहे गर्ने क्रम घटेन उनले भने ।
जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि अन्य पालिकाले प्रहरीसँग साझेदारी गरी सचेतनामुलक विभिन्न कार्यक्रम गरे पनि वडाको सिफारिस अनिवार्य गर्ने कपुरकोट गाउँपालिका पहिलो हो ।
पालिकामा गर्भवती महिलाको अवस्थाका बारेमा बुझ्दा एक सय २० जना गर्भवती पहिलो गर्भ जाँच गर्न आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइयो, यसले बताउँछ कि यस गाउँपालिकामा बालविवाहको अवस्था कस्तो छ । बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाहलाई अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उनको भनाई छ ।
