
पूर्णपुष्टि, भदौ १७
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरिया टोल बस्ने ९७ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको हो ।

उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आज विहानको राती मृत्यु भएको अस्पतालले जनाएको छ । उनको यहि भदौ १२ गते स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको थियो । ती वृद्धमा मुटु रोगी र दमको समस्या साथै उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।
योसँगै पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।
