Thursday, June 11News That Matters

शनिवार सम्म हिमपात र भारी बर्षा, जोखिम क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह

पूर्णपुष्टि, जेष्ठ १३

चक्रवात यासको प्रभावका कारण आउँदो सनिवार सम्म भारी बर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली÷ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात÷वर्षा को सम्भावना रहेको छ ।

यसैगरी आज राति भने देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली÷ उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

हाल बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसममा पनि परिवर्तन देखिएको महाशाखाको भनाइ छ ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै बस्तीनजिक बाढी, पहिरो र डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । त्यस्तै पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।