Wednesday, June 17News That Matters

सङ्खुवासभामा बाढीपहिरोले २५ जना बेपत्ता

पूर्णपुष्टि,असार ३ । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले २५ जना मजदुर बेपत्ता बनाएको छ । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।