Thursday, July 9News That Matters

सम्झौता अनुसार काम नगरेका कारण गाईघाट फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो

पूर्णपुष्टि, पुष ९ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर अन्तरगतका दुई प्याकेजको ठेक्का तोडिएको छ । ठेकेदारले खरिद सम्झौता अनुसार काम नगरेका कारण सडक कालोत्रेको काम वर्षौं अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का अन्त्य गरेको हो ।

२०७७ साउन १० भित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा फोक्सिङटार–सिमपानी (राजापानी) सडकको खरिद सम्झौता गरेको थियो । तर बीचैमा काम छोडेर ठेक्काको म्याद २०७८ चैत ३० गते समाप्त हुँदासम्म पनि सम्झौता बमोजिम कार्य सम्पादन गर्न चासो नदेखाएको कार्यालयले जनाएको छ ।

ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएकाले दुई प्याकेजको ठेक्का तोडिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेले बताए ।

यस्तै, मैनाचुली(सिद्धिसाई प्रकाश जेभीले २०७५ भदौ १४ गते अँधेरी खोला–फोक्सिङटार सडक खण्ड कालोपत्रेको खरिद सम्झौता गरेको थियो । तर ठेक्काको म्याद २०७८ चैत २८ गते समाप्त हुँदासम्ममा पनि काम अलपत्र पारेको खकुरेलले बताए ।