
पूर्णपुष्टि, भदौ १२
बेलकामा सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि खरिद विक्री गर्ने एक गिरोह पक्राउ परेका छन् । बेलका नगरपालिका–३ सिरिया टप्पुमा सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेर खरिद विक्रि गर्ने गिरोह नगद १९ लाख ८ हजार सहित ७ जना विहिबार पक्राउ परेका हुन् ।
स्थानीय ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा, वडा नम्बर ६ सृजना टोल निबासी २६ वर्षिय प्रकाश चन्द्रबंशी, भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ निबासी ४३ वर्षिय देवराज राई, ३८ वर्षिय मणिराज राई, भोजपुर नगरपालिका–३ बोखिम निबासी ३७ वर्षिय सन्तोषकुमार राई, खोटाङ साकेला गाउँपालिका–२ निबासी ४७ वर्षिय धनकुमार राई, स्थायी घर साकेला गाउँपालिका भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२० निबासी ३० वर्षिय मनकुमार राई सरकारी वन क्षेत्रको जग्गा खरिद विक्री गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जग्गा खरिद विक्री गर्ने गिरोहले ३ विगहा ४ कठ्ठा जग्गा खरिद विक्री गरिरहेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट १२ लाख १८ हजार नगद सहित सेन्चुरी बैंक इटहरी शाखाका एउटा चेक ३ लाख ७० हजार र अर्को चेक ३ लाख २० हजार सहित जग्गा खरिद विक्री गर्ने गिरोह पक्राउ परेको जिप्रका उदयपुरले जनाएको छ ।
वन क्षेत्रको जग्गा अतिक्रमण गरि पल्टिङ गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय गाईघाट उदयपुरसंग समन्वय गरी ईलाक प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको सवैलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।
