
पूर्णपुष्टि, जेठ २५ गते ।
सलह किराको झुन्ड दक्षिण अफ्रिकाबाट मध्यपूर्व र पाकिस्तान हुँदै भारतसम्म आइपुगेपछि नेपालमा पनि आउन सक्ने भन्दै रोकथामको तयारी भइरहेको छ ।
झुन्डमा आउने यस किराकोबारेमा नेपालको धेरैलाई थाहा नभएकाले आइतबार सातै प्रदेशलाई तथ्यपत्र पठाउने तयारी सरकारले गरेको हो ।
सलह किरा आइहाले रोकथाम कसरी गर्ने र बालीनालीको सुरक्षा कसरी गर्ने भनेर तथ्यपत्रमा सबै जानकारी उल्लेख गरिएको छ । सातै प्रदेशमा यो पत्र पठाएर कृषि प्राविधिकमार्फत किसानलाई सचेत गराउने तयारी सरकारको छ । तथ्यपत्रमा सलह किराको परिचय, प्रकार, यसको जीवनचक्र र यसले बालीमा पुर्याउने क्षति र रोकथामका उपाय समेटिएको छ ।
सरकारले सलह किराको रोकथाम र नियन्त्रणका लागि प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको संयोजकत्वमा प्राविधिक कार्य दल बनाएको छ । कीट विज्ञ सम्मिलित यो कार्यदलले अहिले पनि काम गरिरहेको छ ।
यो किरा एकै पटक ४ करोडदेखि ८ करोडसम्मको झुन्डमा उड्छ । यस्तै यो किराले एक पुस्तामा आफ्नो सङ्ख्या २० गुणा बढाउने विज्ञले बताएका छन् ।
विज्ञका अनुसार आकारमा सलह किरा सानो भएपनि एकै पटक करोडौँको सङ्ख्यामा हुने भएकाले बालीनाली सखापै पार्छ । कीट विज्ञ अर्यालका अनुसार एक स्वायर किलोमिटरमा बस्ने सलहको समूहले १० हात्ती बराबर र २५ सय मानिसको आहार बराबरको बाली नष्ट पार्छ ।
