
बैशाख ६
सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गर्ने निर्णय गरेको हो । विद्यालय बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ । त्यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको जनाईएको छ ।
रातिको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको जनाएको छ । त्यस्तै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ । त्यस्तै रङ्गशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको जनाईएको छ ।
