
पूर्णपुष्टि, असार ३०
डोटीमा साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख रुपैयाँ दिएमा साढे ३ करोड रुपैयाँको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जिप्रका डोटीले जनाएको छ ।
