
पूर्णपुष्टि,वैशाख ३१ । सामाजिक संञ्जाल मा भारु रु,२५ लाख चिठ्ठामा परेको भन्दै ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३,का उज्जवल थापा मगर, सोहि स्थानका विशाल थापा मगर र चितवन रत्ननगर वडा नं.२ का सुशिल श्रेष्ठलाई प्रहरीले छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूले खोटाङ खोटेहाङ, गाउँपालिका वडा नम्बर-९, घर भई हाल त्रियुगा नगरपालिका वडा नं. ३,मा बस्दै आएका २९ वर्षीय उदय राईलाई सामाजिक सञ्जाल ह्रवाट्स एप मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई ठगी गरेका थिए । राईलाई चिठ्ठा परेको भन्दै दस्तुर (कर) वापत पटक–पटक गरी बिभिन्न व्यक्तिहरुको खातामा रु,२२ लाख २० हजार रकम बुझाई सक्दा पनि उल्लेखित रकम नआएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरमा गत वैशाख २० गते ठगी सम्बन्धी जाहेरी दरखास्त पेश गरेको थियो । सोहि जाहेरीको आधारमा विशेष प्रहरी परिचालन गरी निवेदक राईले रकम पठाएको खाता नम्बर, वैंक भौचरको आधारमा लुकी छिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र फुयलले बताए ।
उनीहरुलाई थप अनुसन्धानको लागि ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य सुरु भएको प्रहरीले जनाएको छ ।



