
पूर्णपुष्टि,चैत १३
पछिल्लो समयमा कोरोना भाईरस कोभिड–१९ को जोखिम बढे संगै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । छिमेकी देश भारतमा दिनकै ५० हजार संक्रमण भेटिन थालेपछि नेपालको सुरक्षामा थप सर्तकता अपनाउन सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्र कडाइ गर्ने निर्णय भएको छ ।
सार्वजनिक यातायात क्षेत्रमा शुक्रबारदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन–पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
कोरोना संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाइ यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
