
पूर्णपुष्टि, साउन ३
सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा ३ जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।
यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । तर शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरुले बताएका छन् ।
बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै थन्किएका बसहरु चलाउन तयारी पनि सँगसँगै गरिने व्यवसायीले बताएका छन् । २÷३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने जनाईएको छ ।
यात्रुलाई हात धुने व्यवस्था कहाँ–कहाँ कसरी गराउने र यात्रुको भिड हुन नदिन बस स्टपहरुको व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका विषयमा यातायात व्यवस्था विभागले स्पष्ट गरेपछि सवारी चलाउँने जनाईएको छ ।
सरकारले सार्वजनिक सवारीमा एउटा पंक्तिको एउटा सिटमा एक यात्रु मात्रै बस्ने मापदण्ड तोकेको छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ ।
तर अझै मापदण्डबारे थप स्पष्ट गर्न जरुरी रहेको महासंघले जनाएको छ । कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गर्नुपर्ने जनाईएको छ ।
सहज वातावरण सहज बने साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने जनाएको छ ।
