
पूर्णपुष्टि, असोज २९
चाडपर्वको बेलामा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ ।
कोरोना संक्रमण बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन तथा टिकट खरिद तथा बिक्री प्रक्रियालाई थप पारदर्शी बनाउने गरी निर्देशिका जारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
मध्यम तथा लामो दूरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले अनिवार्य रूपमा अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ । विभागले एक सयदेखि २ सय ५० किलोमिटरसम्मलाई मध्यम र २ सय ५० किलोमिटरभन्दा बढीलाई लामो दूरी भनेर परिभाषित गरेको छ ।
अनलाइन टिकटका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले प्रयोगमा ल्याउने सफ्टवेयरलाई यातायात व्यवस्था विभागको सफ्टवेयरसँग अनिवार्य रूपमा लिङ्क गर्नुपर्ने गरी निर्देशिका जारी गरिएको विभागले जनाएको छ ।
व्यवसायीको सफ्टवेयर विभागको सफ्टवेयरसँग लिङ्क भएको अवस्थामा तोकिएको भन्दा बढी भाडा लिइएको अवस्थामा विभागलाई स्वतः जानकारी हुने छ ।
ज्येष्ठ नागरिक, महिला, अपाङ्गता लगायतका लागि आरक्षण गरिएका सिट सम्बन्धित लक्षित वर्गले पाउने सुनिश्चित हुने गरी यातायात व्यवसायीले टिकटको खरिद बिक्री गर्नुपर्ने निर्देशिकामा स्पष्ट व्यवस्था गरिएको छ । एक पटक बिक्री भइसकेको सिट सम्बन्धित यात्रुले रद्द गरेको अवस्थामा बाहेक अन्य यात्रुलाई सो टिकट विक्री गर्न पाइने छैन् ।
बिक्री भइसकेको टिकट सवारीसाधन गन्तव्यतर्फ छुट्ने समयभन्दा २४ घण्टा अगाडि रद्द गरेमा दस प्रतिशत र त्यसपछि ३३ प्रतिशत रकम कटाएर यात्रुले टिकट रद्द गर्न पाउने छन् । यात्रुले जुन प्रणालीबाट टिकट काटेको हुन्छ त्यस प्रणालीबाट नै टिकट रद्द गर्नुुपर्ने हुन्छ । अनलाइन टिकट काट्दा व्यवसायीले यात्रुकोे नाम, ठेगाना, लिङ्ग, मोबाइल नम्बर, सवारीसाधनको नम्बर उल्लेख गर्नुका साथै प्रस्थान र गन्तव्य स्थान लगायतका विवरण समावेश गर्नुपर्ने जर्नाइएको छ ।

