Tuesday, June 9News That Matters

सिद्धिचरण राजमार्गको कटारी– घुर्मी सडकखण्ड अनिश्चित कालिन बन्द


पूर्णपुष्टि,वैशाख ७

सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको कटारी – घुर्मी सडकखण्ड सोमबारदेखि अनिश्चितकालिन बन्द गरिएको छ । सडक स्तरोन्नतीको माग गर्दै अनिश्चितकालिन रुपमा सडकखण्ड बन्द गरिएको हो ।

कटारी–घुर्मी सडकखण्ड स्तरोन्नती संघर्ष समितिका संयोजक तथा कटारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाथोकी (सरोज)ले कटारी–घुर्मी सडकखण्डको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङ्गमा स्थानीयले स्वतस्फुर्त रुपमा समितिको अगुवाईमा सडकखण्ड अनिश्चित कालिन बन्द सुरु गरेको बताउनुभयो ।

सवारीसाधनहरु अनिश्चितकालिन रुपमा रोकिएपछी यात्रुहरु अलपत्र परेका छन् । समितिले यसअघि तत्काल सडकखण्ड स्तरोन्नतीका लागि विभिन्न सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको थियो । सरोकारवालाहरुले ज्ञापन पत्रको मागमा ध्यान नदिएपछी वन्द सुरु गरिएको संघर्ष समितिका संयोजक बुढाथोकीले बताउनुभयो ।

स्थानीयले समितिको नेतृत्वमा शान्तिपूर्ण रुपमा एम्बुलेन्स बाहेकका सवारीसाधन अनिश्चित कालका लागि रोकेका छन् । संयोजक बुढाथोकीका अनुसार समितिले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा राजमार्गका लागि दुई लाईन कालोपत्रे सडकका लागि लागत ईष्टिमेट अनुसार बजेट सुनिश्चित हनुपर्ने,बजेट सुनिश्चित नभएसम्म स्काभेटर, पानी ट्याङ्कर,ट्रिपर लगायतका तत्काल सडकका समस्या समाधान गर्दै आउजाउ गर्ने उपकरणको व्यवस्था गरेर मात्रै सडक संञ्चालन हुनुपर्ने जस्ता मागहरु राखेको छ ।

माथिल्लो जिल्लाहरु ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बुबाट आएका सवारीसाधनहरुलाई कटारीको उत्तरपश्चिमी वजार घुर्मी, जिल्लाकै उत्तरपश्चिम ताप्ली, लिम्चुङ्बुङ गाउँपालिका तर्पmबाट आएका सवारीहरुलाई कटारी–११ को बेतेनी र कटारीबजारबाट गएका सवारीसाधनहरुलाई कटारी–८ को पट्नाभञ्ज्याङ्गमा रोकिएको छ ।

सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । जुन क्षेत्र कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । यस सडकखण्डमा वषौँअघि गरिएको ओटासिल भत्किएको अढाईदशक बितिसक्दा पनि स्तरोन्नतीको काम नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लाखौँ सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नहुँदा यात्रुहरु बर्षामा हिलो र हिँउदमा धुलो सहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रदेश २ को सिरहादेखि मिर्चैयादेखि प्रदेश १ को उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुँगा जोड्ने सिद्धिचरण राजमार्ग अढाईदशक अघि सुचारु भएपनि मर्मत र स्तरउन्नती नहुँदा जीर्ण बनेको छ । सडकमा एकतर्फी यात्रा गर्नसमेत समस्या छ । तर दोहोरो सवारी साधन सञ्चालन हुने यो खण्डका अधिकांश भाग भत्किएकाले पछिल्लो सयम दैनिक जस्तो साना ठूला दुर्घटना हुने गरेका छन् ।

२०५२ सालदेखि नै निर्माण शुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको थियो । तर यतिका वर्ष पुनःनिर्माण हुन नसक्दासडकखण्ड अहिले जीर्ण भई जोखिम अवस्थामा छ । सडकका दायाँबायाँ रहेका भागहरू अधिकांश भत्किएका छन् भने सडकका बीचबीचमा ठूला खाल्डा परेका कारण साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्थामा आएपछी संघर्षमा उत्रिएको समितिले जनाएको छ ।