Monday, June 22News That Matters

सुनचाँदी व्यवसायीको हत्या, २ जना पक्राउ

पूर्णपुष्टि, चैत २९

सिरहाको लहानमा एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोली प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत राति करिब १ बजे लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेको प्रहरीले जनाएको छ । मिझारको टाउको, अनुहार र हातमा खुकुरी प्रहार गरी छातीमा गोलीसमेत प्रहार गरी मिझारलाई गम्भीर घाइते बनाएको थियो । उनको तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिताकुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–२३ नम्बर वडाका वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसाय गर्दै आएका थिए । घरको पछाडिपट्टिको भागबाट भ¥याङ लगाई घरको छतमा चढी छतको ढोका प्रयोग गरी भुईं तल्लामा झरेर फलामको हम्मर र फलामको छिनोले ढोका फोडेर ६÷७ जना लुटेरा समूह भित्र प्रवेश गरेपछि उनीहरुको प्रतिकार गर्ने क्रममा सुनचाँदी व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्नमध्येका सिरहा लहान नगरपालिका–७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लहान नगरपालिका–२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान साढे ४ बजे पक्राउ गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।