
पूर्णपुष्टि, असोज ११
नेपाली सेनाले कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोलेको छ । व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरको चट्टान काटेर ५ सय ५० मिटर बाटोको ट्र्याक खुलाएको हो ।
सोही बाटोको ट्र्याक खोल्न सेनाले गत जेठ ९ गतेदेखि काम सुरु गरेको थियो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिका–१ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो ।
चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकूल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको सेनाले जनाएको छ ।
यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा १ सय १७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ ।
चट्टानी भूगोलले केही ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको स्थानीय बासीन्दाहरुले बताएका छन् । घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य केही ठाउँमा पुनः बाटो अवरुद्ध भएको जनाईएको छ ।
घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको जनाईएको छ । अहिले परामर्शदातामार्फत अध्ययन भइरहेको छ । यस सडकखण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सुरु गरेको जनाईएको छ ।
महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् ।
यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपि हिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन् ।

