Saturday, June 13News That Matters

सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

पूर्णपुष्टि, फागुन ११ 

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरि श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेको जनाइएको छ ।

म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएपनि सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् । यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।

गतको फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

प्रदर्शनकारीहरुले नेतृ आङ सान सुकीको जननिर्वाचित सरकारको पूनर्बहाली र सूकीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । चुनाव धाँधली भएकाले फेरि चुनाव गर्नुपर्ने सेनाले बताउँदै आएको जनाएको छ ।