
पूर्णपुष्टि,चैत १५
सोलुखुम्बुका एक महिलाले ऋण तिर्न नसक्दा चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ ।
छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिलाको भनाइ छ ।
शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ ।
घरायसी कामसँगै तीन–चार दिनको अन्तरमा उहाँमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको पीडितको भनाइ छ । गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ ।
सामान्य विवाद हुँदा समेतछिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ । आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन् । जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ ।
प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ ।
यता पीडित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ ।
